२४ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। आइतबार सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो।
यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आइतबार चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
आज सार्वजनिक बिदा भए पनि महासंघले नियमित रूपमा सुनचाँदीको दैनिक मूल्य निर्धारण गरेको जनाएको छ।


