काठमाडौं। नेपाली सुनचाँदी बजारमा आज फेरि मूल्य वृद्धि देखिएको छ। साताको अन्तिम कारोबार दिन सुनको भाउ उल्लेख्य रूपमा बढ्दै उच्च विन्दुतर्फ अग्रसर भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् बिहीबार भने यही सुन २ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उकालो लागेको छ। शुक्रबार चाँदी प्रतितोला ८५ रुपैयाँले वृद्धि भई ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि बिहीबार चाँदी ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिँदै आएको छ। व्यापारीहरूका अनुसार पछिल्लो वृद्धि क्रमले आगामी दिनमा अझै मूल्य बढ्ने संकेत देखिएको छ।


