काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँगै देशका विभिन्न भूभागमा तापलहर (लू) को प्रभाव बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
मन्त्रालयले विशेषगरी तराई–मधेशका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको असर देखिन सक्ने भएकाले पूर्वतयारी गर्न र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेको हो। मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मनसुन सुरु हुने चरणमा समेत केही क्षेत्रमा तापलहरको जोखिम कायम रहने अनुमान गरिएको छ।
उहाँले अत्यधिक गर्मी हुने समय अर्थात् दिउँसो बाहिरी काम कम गर्न, सम्भव भएसम्म बिहान वा साँझको समय रोज्न तथा शरीरमा पानीको मात्रा पर्याप्त राख्न सुझाव दिनुभयो। झोलिलो तथा पौष्टिक आहार सेवन गर्नुका साथै पर्याप्त आराम गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार तापलहरले शरीरमा पानीको कमी, हिट स्ट्रोक, मुटुसम्बन्धी समस्या, आँखामा असर तथा छालासम्बन्धी दीर्घकालीन समस्या निम्त्याउन सक्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगबाट पीडित व्यक्तिहरू उच्च जोखिममा पर्ने भएकाले उनीहरूलाई थप सतर्क रहन मन्त्रालयले सचेत गराएको छ।
मन्त्रालयले धूम्रपान र मद्यपानबाट टाढा रहन, गर्मीको समयमा हल्का तथा खुकुलो कपडा लगाउन, चिसो वा छायाँयुक्त स्थानमा बस्न तथा स्वास्थ्यमा असामान्य लक्षण देखिए तत्काल चिकित्सक वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गरेको छ।
तापलहर के हो?
तापलहर भनेको कुनै क्षेत्रको सामान्य औसतभन्दा निकै उच्च तापक्रम लामो समयसम्म कायम रहने अवस्था हो। उच्च आर्द्रतासहितको अत्यधिक गर्मीले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा तापलहरको जोखिम विश्वभर बढ्दै गएको विज्ञहरूको भनाइ छ।
तापलहरका प्रमुख लक्षण
- अत्यधिक तिर्खा लाग्नु
- मुख सुक्नु
- चक्कर लाग्नु वा रिङ्गटा लाग्नु
- अत्यधिक पसिना आउनु
- शरीर कमजोर महसुस हुनु
- शरीरको तापक्रम अस्वाभाविक रूपमा बढ्नु
- अन्योल वा बेहोस हुने अवस्था
- मुटुको धड्कन तीव्र हुनु
बच्ने उपाय
- दिउँसोको चर्को घाममा बाहिर ननिस्कने
- प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्ने
- हल्का र खुकुलो कपडा लगाउने
- चिसो तथा हावापानीयुक्त स्थानमा बस्ने
- अनावश्यक शारीरिक श्रम नगर्ने
- नियमित औषधि सेवन गर्ने बिरामीले चिकित्सकको सल्लाह पालना गर्ने
- रक्तचाप तथा रक्तशर्कराको निगरानी गर्ने
स्वास्थ्य मन्त्रालयले बढ्दो गर्मीलाई मध्यनजर गर्दै सबै नागरिकलाई सचेत रहन र तापलहरबाट बच्न आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरेको छ।


