पर्साको सीमावर्ती क्षेत्र जानकीटोलामा सुरक्षाकर्मीको संरक्षणमै व्यापक तस्करी तथा हुण्डी कारोबार भइरहेको भन्दै स्थानीयवासीले गम्भीर आरोप लगाएका छन्। स्थानीयका अनुसार भारतसँग जोडिएको उक्त नाकाबाट कपडा, हार्डवेयर सामग्री, कुखुराको चल्ला, गाई–भैँसी, गोरु तथा कस्मेटिक सामग्री अवैध रूपमा नेपाल भित्र्याउने काम दिनहुँ भइरहेको छ।
स्थानीय बासिन्दाहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी मौलाएको दाबी गरेका छन्। उनीहरूका अनुसार बिहानदेखि रातिसम्म विभिन्न समयमा अवैध सामान सहज रूपमा सीमा पार गराइँदै आएको छ। इलाका प्रहरी कार्यालय जानकीटोला तथा सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको संरक्षणमा अवैध कारोबार भइरहेको आरोपसमेत स्थानीयले लगाएका छन्।
सीमाक्षेत्रका बासिन्दाहरूका अनुसार भारतबाट ल्याइने सामान डकैला, बहुअर्वा हुँदै जितपुर बजारसम्म सहज रूपमा पुर्याइने गरिएको छ। प्रहरी चौकी जानकीटोलाका प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन पण्डितमाथि समेत स्थानीयले प्रश्न उठाएका छन्। स्थानीय स्रोतको भनाइ अनुसार उनी चौकीमा आएपछि तस्करी गतिविधि थप बढेको दाबी गरिएको छ।
नाम नखुलाउने सर्तमा एक व्यापारीले सुरक्षाकर्मीको “सेटिङ” मा रातिको समयमा तस्करीको सामान स्कर्टिङ गरेर पार गराउने कामसमेत हुने गरेको बताएका छन्। उनका अनुसार साना व्यापारी र सर्वसाधारणमाथि कडाइ गरिए पनि ठूला तस्करहरूसँग भने आर्थिक चलखेल गरेर सहज वातावरण बनाइने गरिएको छ।
स्थानीयहरूको आरोप अनुसार खुला सीमाको फाइदा उठाउँदै मासिक रकमको आधारमा अवैध कारोबार सञ्चालन भइरहेको छ। विशेषगरी कुखुराको चल्ला तथा गाई–भैँसीको तस्करी जानकीटोला नाकाबाट अत्यधिक हुने गरेको उनीहरूको भनाइ छ। रातिको समयमा साइकल तथा मोटरसाइकल प्रयोग गरी भारतबाट चल्ला भित्र्याइ विभिन्न कुखुरा फर्मसम्म पुर्याइने गरिएको आरोपसमेत लगाइएको छ।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी चौकी जानकीटोलाका प्रमुख अर्जुन पण्डितसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन नसकेको जनाइएको छ।
स्थानीयहरूले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


