पर्सा, २९ जेठ
वीरगञ्ज महानगरपालिका वडा नं. ३१ सोलखपुर क्षेत्रमा सञ्चालन गरिएको संयुक्त वन संरक्षण अभियानअन्तर्गत करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्त अधिकारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले वन क्षेत्रमा निगरानी बढाउँदै अवैध रूपमा काटी लुकाइछिपाइ राखिएको सालको काठ बरामद गरेको हो।

अभियानमा सबैया सब-डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय र कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु तथा अरविन्द कुमार, प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, सदस्य श्रवण प्रसाद साह तथा सशस्त्र प्रहरी बल नेपालका सई नारायण अधिकारीसहितको टोलीको सहभागिता रहेको थियो।
संयुक्त टोलीले वन क्षेत्रमा हुने अवैध कटानी, चोरी निकासी तथा काठ तस्करी नियन्त्रणका लागि निगरानी थप कडा पारिएको जनाएको छ। वन ऐनअनुसार अवैध रूपमा काठ कटानी, ओसारपसार तथा कारोबार गर्ने व्यक्तिलाई कडा कानुनी कारबाहीको व्यवस्था रहेको सम्बन्धित निकायले जनाएको छ।
वन संरक्षण प्राकृतिक सम्पदा, वातावरण तथा जैविक विविधता जोगाउने महत्वपूर्ण अभियान भएकाले स्थानीय समुदाय, वन कार्यालय र सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्।


