नवलपुर — गृहमन्त्री सुधन गुरुङ नवलपुर पुगेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहित स्थानीय नेताहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा स्थानीय प्रतिनिधिहरूले नवलपुर क्षेत्रमा दूषित पानीका कारण वन्यजन्तुमा परेको असरबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। विशेषगरी गैंडालगायतका जंगली जनावरहरू दूषित पानीका कारण मृत अवस्थामा भेटिन थालेको विषयमा उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्री गुरुङलाई यस विषयमा औपचारिक ज्ञापनपत्र समेत बुझाएको छ।
स्थानीयवासीका अनुसार विभिन्न उद्योगबाट निस्किने फोहोर पानी खोलामा मिसिँदा जलस्रोत प्रदूषित भएको र त्यसकै असरले वन्यजन्तुहरूको मृत्यु भइरहेको छ।
समस्या बुझिसकेपछि गृहमन्त्री गुरुङले प्रभावित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन्।


