काठमाडौं, २९ चैत — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी साधनमा कार्यरत चालक तथा सहचालकलाई यात्रुसँग सभ्य र मर्यादित व्यवहार गर्न विशेष आग्रह गरेको छ। आइतबार जारी गरिएको सूचनामार्फत महासंघले यात्रु सेवामा सुधार ल्याउन कर्मचारीको बोली र व्यवहारमा अनुशासन आवश्यक रहेको उल्लेख गरेको हो।
महासंघका अनुसार यात्रुहरूले पछिल्लो समय सवारी कर्मचारीबाट असभ्य व्यवहार भोग्नु परिरहेको गुनासो बढ्दो छ। यस्तो अवस्थाले समग्र यातायात क्षेत्रको छवि प्रभावित पारिरहेको भन्दै सुधारका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइएको छ।
सूचनामा लामो दूरीका यात्राका क्रममा आवश्यकताअनुसार शौचालय सुविधा भएका स्थानमा सवारी रोक्न र स्वच्छ तथा गुणस्तरीय खानाको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। साथै, सवारी सञ्चालन अघि प्राविधिक जाँच अनिवार्य गर्न र साधनलाई सफा तथा आकर्षक अवस्थामा राख्न जोड दिइएको छ।
महासंघले यात्रुहरूलाई पनि जिम्मेवार बन्न आग्रह गर्दै सवारीभित्र फोहोर नफाल्न, अनुशासनमा बस्न र अपशब्द प्रयोग नगर्न चेतावनी दिएको छ। प्रत्येक सवारीमा डस्टबिन राखेर फोहोर व्यवस्थापन गर्न सदस्य व्यवसायीलाई निर्देशन दिइएको छ।
यसका साथै, यात्रुवाहक तथा मालवाहक सवारीलाई तोकिएको स्थानमा मात्र पार्किङ गर्न, सडकमा जथाभावी अवरोध सिर्जना नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न महासंघले आग्रह गरेको छ। यात्रुहरूलाई अनिवार्य रूपमा टिकट लिएर यात्रा गर्न पनि सचेत गराइएको छ।


