वीरगञ्ज । अखिल नेपाल महिला संघ पर्साले पर्सा जिल्लामा आज वीरगञ्जमा एक भेला आयोजना गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको हो।
भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले आगामी दिनमा घरदैलो अभियानलाई तीव्र बनाउँदै एमाले उम्मेदवारको पक्षमा जनसमर्थन जुटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले महिलाहरूको संगठित भूमिकाले चुनावी अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन्।
कार्यक्रम संघकी अध्यक्ष इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलालाई सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले मुलुकमा स्थिर राजनीति, विकास र सुशासन कायम गर्न एमालेको जित आवश्यक रहेको धारणा राखिन्। उनले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा एमालेले महत्वपूर्ण काम गरेको उल्लेख गर्दै महिलाहरू एकजुट भएर चुनावी अभियानमा अग्रसर हुनुपर्ने बताइन्।
“महिलाको हकहितका लागि एमालेले नीति र व्यवहार दुवै स्तरमा योगदान दिएको छ, त्यसैले यस निर्वाचनमा महिलाहरू सक्रिय भएर उम्मेदवारलाई जिताउनुपर्ने समय आएको छ,” देवकोटाले भनिन्।
भेलामा नेतृ पिंकी यादव र रानी रायले उम्मेदवार प्रदीप यादवको जनतासँगको सम्बन्ध, राजनीतिक अनुभव तथा विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा–१ मा उनको विजय आवश्यक रहेको बताए। उनीहरूले महिला संघका कार्यकर्ताहरूलाई संगठित रूपमा परिचालन भएर चुनावी अभियानमा जुट्न आग्रह गरे।
अध्यक्ष इन्दु घिमिरेले निर्वाचनको मिति नजिकिँदै जाँदा महिला संघ पर्साले निरन्तर अभियान सञ्चालन गर्ने जानकारी दिँदै महिलाहरूको एकता र सक्रिय सहभागिताले प्रदीप यादवको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरूले एमाले र उम्मेदवारको पक्षमा एकजुट भएर लाग्ने संकल्प गर्दै आगामी निर्वाचनसम्म अभियानलाई थप सशक्त बनाउने निर्णय गरेका थिए।


