
बाराको विश्रामपुर गाउँपालिका–५, ईटियाहीका बासिन्दाहरूका लागि एक बहुप्रतीक्षित योजना अन्ततः मूर्त रुप लिन लागेको छ। प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको आर्थिक साझेदारीमा करिब ५० लाख रुपैयाँको लागतमा बन्ने विवाह भवनको औपचारिक शिलान्यास गरिएको छ।
उक्त परियोजनालाई मूर्त रुप दिन वडा अध्यक्ष अमिरिलाल गुप्ताको अग्रसरता निर्णायक रहेको बताइएको छ। शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा स्थानीय नेता धर्मदेव यादव, मनिर देवान, समाजसेवी कृष्णा साह र गोपिचन्द गुप्तालगायतको उल्लेखनीय उपस्थिति देखिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष भुट्टोले उक्त भवनले स्थानीय समाजको सांस्कृतिक विकासमा योगदान पुर्याउने बताउँदै, यस्तो पूर्वाधारले सामाजिक ऐक्यबद्धता र सहकार्यलाई पनि बल दिने धारणा राख्नुभयो।
वडा अध्यक्ष गुप्ताले अतिक्रमणमा परेको जग्गा खाली गराएर निर्माणको बाटो खोलिएको जानकारी दिनुभयो। उहाँले निर्माण कार्य छिट्टै सुरु हुने र निर्धारित समयमा सम्पन्न गरिने योजना रहेको स्पष्ट पार्नुभयो। भवन सम्पन्न भएपछि विवाहदेखि सामाजिक सभा, सांस्कृतिक जमघटसम्मका गतिविधिहरूका लागि एउटै समुचित स्थल उपलब्ध हुने अपेक्षा गरिएको छ।
स्थानीय समुदायले लामो समयदेखि यस्तो पूर्वाधारको अपेक्षा राख्दै आएको हुँदा, यो पहल सामाजिक र संरचनागत विकासतर्फको सकारात्मक संकेतको रूपमा हेरिएको छ।