वीरगंज, पर्सा — ‘बलियो नयाँ युगमा रिपोर्टिङ: प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ भन्ने नाराका साथ वीरगंजमा ३२औं प्रेस स्वतन्त्रता दिवस शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न पक्षलाई उजागर गर्दै प्रेस स्वतन्त्रताको सन्देश फैलाइएको थियो।
दिवसको प्रारम्भ वीरगंजको ऐतिहासिक घण्टाघरबाट प्रभातफेरीसहित सुरु भएको थियो, जसले पुनः घण्टाघरमै कोण सभाको रूपमा रुपान्तरण लिएको थियो। कार्यक्रममा पत्रकारिताको दौरानमा जीवन गुमाएका पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कोणसभामा सहभागी वक्ताहरूले प्रेस स्वतन्त्रताको संवर्धन, पत्रकार सुरक्षाको सुनिश्चितता, र उत्तरदायी पत्रकारिताको अभ्यास अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै, बदलिंदो प्रविधिको युगमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र यसको सकारात्मक र नकारात्मक पक्षसमेत छलफलको केन्द्रमा रह्यो।
कार्यक्रमले प्रेस स्वतन्त्रताको महत्वमाथि मात्र होइन, डिजिटल युगमा पत्रकारिताको भूमिकाबारे पनि गहन चासो प्रस्तुत गरेको थियो।


