बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकमा मंगलबार साँझ एक यात्रुबाहक बसबाट ठूलो परिमाणमा चाँदीका गहना बरामद गरिएको छ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी निरीक्षक अमृत मैनालीको नेतृत्वमा खटिएको टोलीले वीरगंजबाट तुलसीपुर, दाङतर्फ गइरहेको बागमती प्रदेश ०३–००३–००१ ख ३२५६ नम्बरको बसलाई साढे पाँच बजेतिर रोकि नियमित जाँच गर्दा चाँदीका गहना फेला परेको हो।
बसको क्याभिनभित्र सिटमुनि टेपले बेरेर राखिएको कार्टुन शंकास्पद लागेपछि प्रहरीले सो कार्टुन खोलेर हेर्दा चाँदीजस्तो देखिने विभिन्न प्रकारका रेडिमेड गहना भेटिएका थिए।
बरामद गरिएका गहनाको कुल तौल ६ किलो रहेको र त्यसको बजार मूल्य करिब १० लाख ८० हजार रुपैयाँ बराबर हुने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
हाल गहना सहितको बसलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। चाँदीका गहना कसको हो भन्नेबारे हालसम्म कुनै ठोस विवरण प्राप्त नभएको जनाइएको छ।


