काठमाडौँ, १० बैशाख — प्राकृतिक शान्तिको पर्याय मानिने भारतको जम्मु–कश्मीरस्थित पहलगाम २२ अप्रिल मंगलबार एक भीषण आतङ्ककारी हमलाले थरथरायो । बैसरन उपत्यकामा घुम्न गएका पर्यटकहरूमाथि अचानक गरिएको हमलामा २८ जनाले ज्यान गुमाए, जसमा एक नेपाली नागरिक पनि परेका छन् । ज्यान गुमाउनेहरूमध्ये नवविवाहित जोडी पनि थिए, जसको जीवनसपना आतंकको नालामा बग्यो ।
भारतको हरियाणाको कर्नाल निवासी २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल आफ्नी नवविवाहित श्रीमतीसँग हनिमून मनाउन पहलगाम पुगेका थिए । विवाहको एक हप्तामात्रै भएको थियो । मंगलबार आतंककारीले अचानक पर्यटकहरूको समूहमाथि गोली प्रहार गरे । घटनाका प्रत्यक्षदर्शीका अनुसार विनयले आफ्नी श्रीमतीलाई ढाल बनाएर जोगाए, तर आफू भने गोली लागेर घटनास्थलमै ढले ।
घटनापछि विनयकी श्रीमतीले श्रीमान्को शव अँगालोमा बेरेर बसेको तस्वीरले सामाजिक सञ्जाललाई भावुक बनाएको छ । त्यो दृश्य हेर्ने जो कोहीको आँखा रसाएका छन् । उनका परिवारजन शोकमा डुबेका छन् । उनका एक आफन्तले भने, “हाम्रो छोरा वीर थियो, उसले श्रीमतीलाई जोगायो, तर आफू फर्कन सकेन ।”
घटनाको जिम्मेवारी लश्कर–ए–तैयबासँग आबद्ध द रेजिस्टेन्स फ्रन्ट (TRF) ले लिएको छ । आक्रमणका क्रममा आतंककारीहरूले पर्यटकहरूलाई नाम र धर्म सोधेका थिए, त्यसपछि निर्दयतापूर्वक गोली चलाएका थिए । यो हमलामा युएई र नेपालका नागरिक समेत मारिएका हुन् ।
यस घटनाले भारत र छिमेकी देशहरूमा ठूलो शोक र आक्रोश फैलिएको छ । सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आक्रमणको सर्वत्र निन्दा गरिएको छ । शान्तिको उपत्यका भनेर चिनिएको पहलगाममा यस्तो नृशंसता फेरि नहोस् भन्ने सबैको माग छ ।


