वीरगञ्ज,
वीरगञ्ज महानगरपालिकाले शहरलाई सफा, स्वस्थ र सुन्दर बनाउने अभियान अन्तर्गत पान, गुट्खा तथा सुर्तीजन्य पदार्थको नियन्त्रणमा कडा कदम चालेको छ। पान तथा गुट्खा व्यवसायी संघसँगको सहमतिपछि अबदेखि विद्यालय र अस्पताल क्षेत्र वरपर यस्ता वस्तु बिक्री वितरण गर्न पाइने छैन।
महानगरपालिका र व्यवसायी संघबीचको सहमतिअनुसार पान पसलमा अनिवार्य डस्टबिन राख्नुपर्नेछ भने जथाभावी थुक्न र फोहोर गर्न नदिने जिम्मेवारी व्यवसायीहरूले लिनुपर्नेछ। साथै, विद्यार्थी तथा सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पार्ने खालका वस्तुहरू खुल्ला रूपमा बेच्न पाइने छैन।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस निर्णयलाई “सार्वजनिक स्वास्थ्य र शहरी मर्यादालाई मजबुत बनाउने प्रयास” भन्दै स्वागतयोग्य कदमको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो, “हामी वीरगञ्जलाई नमूना शहर बनाउने अभियानमा छौं, र यो सहमति त्यस दिशातर्फको महत्वपूर्ण उपलब्धि हो।”
पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले व्यवसायीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै सहमतिमा हस्ताक्षर गरेको जानकारी दिनुभयो। उहाँले विद्यालय जाने बालबालिका र अस्पताल गएका बिरामीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै अब संयमित र मर्यादित रूपमा व्यापार संचालन गरिने प्रतिवद्धता जनाउनुभयो।
व्यवसायी संघले जनचेतना फैलाउने उद्देश्यले ‘साफ वीरगञ्ज, स्वस्थ वीरगञ्ज’ नारासहित सचेतनामूलक र्याली आयोजना गर्ने योजना पनि सार्वजनिक गरेको छ। साथै, व्यवसाय दर्ता नगरेका पसलहरूलाई औपचारिक प्रणालीमा ल्याउने तयारी भएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले अब बजारमा नियमित अनुगमन गरिने, नियम उल्लंघन गर्नेलाई कारबाही गरिने र जनस्तरमा चेतना अभिवृद्धि अभियानलाई तीव्रता दिइने जानकारी दिनुभयो।
यो पहलले वीरगञ्जलाई सफा र सुन्दर बनाउने अभियानमा उल्लेखनीय गति ल्याउने महानगरको अपेक्षा रहेको छ।


