कलैया, ०८ वैशाख – बाराको कलैया उपमहानगरपालिका–१४ बघवनका २२ वर्षीय नितेश कुमार महत्तोले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय बारा अनुसार, उनी श्यामप्रसाद महत्तोका छोरा हुन्।
नितेशले आत्महत्याअघि सोमबार बिहान करिब ३ बजे आफ्नो फेसबुकमार्फत एक भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले आफूलाई मानसिक यातना दिएको भन्दै केही व्यक्तिहरूको नाम किटान गर्दै गुनासो पोखेका थिए। भिडियोमा थुप्रैले उनलाई आत्महत्या नगर्न सुझाव दिएका थिए, तर उनी अडिग रहँदै अन्ततः आत्महत्या गरेका हुन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय राज पण्डितले पुष्टि गर्दै अनुसन्धान अघि बढाइएको जनाएका छन्। उनले भने, “भिडियो हामीले पनि हेरेका छौं। त्यसमा उल्लेख गरिएका कुराहरूलाई आधार बनाई थप अनुसन्धान भइरहेको छ। घटना आजैको हो र विस्तृत विवरण अनुसन्धानपछि मात्र दिन सकिन्छ।”
यस घटनाले पुनः एकपटक सामाजिक सञ्जालमा सार्वजनिक हुने व्यक्तिगत पीडाहरूको गम्भीरतालाई उजागर गरेको छ। आत्महत्याको पछाडि रहेका कारणबारे प्रस्ट जानकारी आउन बाँकी छ भने प्रहरी यस सम्बन्धमा थप तथ्य संकलनमा जुटिरहेको छ।


