सुनसरी — सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । सोमबार बिहान नुहाउने क्रममा खोटाङ्गका ४० वर्षीय नवराज बास्तोला र इटहरीका १६ वर्षीय जेनिश आचार्य नदीमा डुबेर बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरी बलका अनुसार बेपत्ताको खोजीका लागि सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर–१ बाहिनी मुख्यालयबाट एक गोताखोर टोली परिचालन गरिएको छ । टोलीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५ जना सुरक्षाकर्मी सहभागी छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थल नजिकैको क्षेत्रमा खोजी कार्य सुरु गरिएको छ । नदीको बहाव तीव्र भएकाले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ । परिवारजन र स्थानीयवासीको सहयोगमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रसंग:
वर्षायाम सुरु हुन लागेकाले नदीमा पानीको बहाव बढेको बेला नुहाउँदा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गर्दै आएको छ ।


