कोशी नदीको प्राकृतिक बहावलाई मोड्ने उद्देश्यले भारतीय पक्षले निर्माण गरिरहेको ‘पाइलट च्यानल’को काममा बुधवार रोक लगाइए पनि, बिहीवारदेखि फेरि निर्माण कार्य अघि बढाइएको छ।
बुधवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पुगेको नेपाली निरीक्षण टोलीले तत्कालीन रूपमा निर्माण रोक्ने निर्णय गरे पनि बिहीवार नेपाल–भारत दुवै पक्षको संयुक्त स्थलगत अनुगमन तथा छलफलपछि काम पुनः शुरू भएको हो।
प्रमुख जिल्ला अधिकारीले कोशी परियोजना भारत–नेपालबीचको उच्चस्तरीय सहमतिअनुसार अघि बढिरहेको बताउँदै, निरीक्षणपछि काम गर्न अनुमति दिइएको जानकारी दिएका छन्।
भू–अर्जन सम्पर्क कार्यालयका प्रमुख चैतन्य सिटौलाका अनुसार, कोशी परियोजनासम्बन्धी निर्णय उच्च तहबाट हुने भएकाले आफूहरूले केवल समन्वयकारी भूमिका निर्वाह गर्ने र राय–सल्लाह मात्र पठाउने दायित्व रहेको बताए।
तर, कोशी नदीको बहाव परिवर्तन गरिने कार्यले विगत पाँच वर्षयता जोखिम बढाएको जनाइएको छ। यस अवधिमा नदीको पानी पश्चिमी तटबन्धसम्म आइपुग्ने क्रम तीव्र बनेको छ। यसको असरस्वरूप तिलाठी कोईलाडी र हनुमाननगर कंकालिनी क्षेत्रका करिब एक दर्जन गाउँहरू प्रत्येक वर्ष बाढीको उच्च जोखिममा पर्दै आएका छन्।
स्थानीयवासी तथा विज्ञहरू नदीको बहाव परिवर्तन गर्ने कार्यले दीर्घकालीन रूपमा नेपाली भूभागमा जलप्रकोपको सम्भावना बढाउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।


