वीरगन्ज जेसीजले आफ्नो साप्ताहिक कार्यक्रम वीरगन्ज जेसीज सप्ताह २०२५ अन्तर्गत पर्सागढी नगरपालिका–८ स्थित निःशुल्क ट्युसन केन्द्रमा अध्ययनरत ५० जना दलित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा वीरगन्ज जेसीज र सृजनात्मक समाज फाउन्डेसन नेपालको सहकार्यमा सञ्चालन भइरहेको ट्युसन केन्द्रका बालबालिकालाई कापी, कलम, झोला लगायतका सामग्री वितरण गरिएको थियो। कार्यक्रम वीरगन्ज जेसीजका अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा ट्युसन केन्द्रका संयोजक चन्द्र किशोर राम, वडाका जनप्रतिनिधिहरू, जेसीजका पूर्व अध्यक्ष गणेशमान श्रेष्ठ, अशोक गुप्ता, अरविन्द श्रेष्ठ, महासचिव रविन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक रामानन्द चौधरी लगायतको उपस्थिति रहेको थियो।
वीरगन्ज जेसीज सप्ताह २०२५ अन्तर्गत यसअघि बिहीबार निःशुल्क स्वास्थ्य शिविर, बुधबार विद्यार्थीलाई उत्प्रेरण तालिम, र मंगलबार स्थानीय कलाकारलाई सम्मानजस्ता कार्यक्रमहरू आयोजना गरिएको जानकारी पनि अध्यक्ष चौरसियाले दिए।
वीरगन्ज जेसीजको यो पहलले दलित समुदायका बालबालिकाको शिक्षामा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।


