निरंजन शाह ,
४ वैशाख, काठमाडौं — शिक्षक र विद्यालय कर्मचारीहरुले शिक्षासम्बन्धी नयाँ ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाएका छन्। देशभरबाट आएका आन्दोलनकारीले बिहीबार माइतीघरदेखि बबरमहलसम्मको सडक पूर्णरूपमा अवरुद्ध बनाएपछि त्यहाँको यातायात सेवा ठप्प भएको छ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको यस आन्दोलनमा सहभागीहरूले ‘शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन’ तत्काल ल्याउनुपर्ने माग राख्दै २० चैतदेखि राजधानीमा आन्दोलन चर्काउँदै आएका छन्। शिक्षकहरुको प्रदर्शनले सरकारी विद्यालयहरूको दैनिक गतिविधि पूर्णरूपमा प्रभावित भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकका माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव अघि सारेको भए पनि महासंघले त्यसमा असहमति जनाएको छ। आन्दोलनकारीहरूको भनाइ छ— पटक–पटक सरकारबाट आश्वासनमात्र पाइरहेको र ठोस कार्यान्वयन नभएकाले आन्दोलन रोकिने अवस्था छैन।
महासंघले आन्दोलनलाई निर्णायक बनाउने घोषणा गर्दै अझै धेरै शिक्षक र कर्मचारीलाई काठमाडौंमा भेला हुन आह्वान गरेको छ। यसको प्रत्यक्ष असर विद्यालयहरूमा देखिन थालेको छ। शिक्षकहरूको हड्तालका कारण सरकारी विद्यालयहरूमा नयाँ भर्ना प्रक्रिया अवरुद्ध भएको छ भने वार्षिक परीक्षाको नतिजा प्रकाशनदेखि एसईई उत्तरपुस्तिका परीक्षण समेत प्रभावित भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले असारको पहिलो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बनाए पनि उत्तरपुस्तिका परीक्षण नै सुरु नभएकाले नतिजा सार्वजनिक गर्ने मिति पछाडि धकेलिने सम्भावना बढेको छ।
सरकार र आन्दोलनरत पक्षबीच सहमति नजुटे अवस्था लामो समयसम्म शैक्षिक संकट बढ्न सक्ने संकेत देखिएको छ।


