निरंजन शाह ,
४ वैशाख, जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही जिल्लामा सञ्चालनमा रहेका ११ वटा निजी अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्। अनुमति बिना सञ्चालनमा आएका र आवश्यक मापदण्ड नपुगेका स्वास्थ्य संस्थामाथि बुधबार साँझ गरिएको अनुगमनपछि यस्तो निर्देशन जारी गरिएको हो।
मुख्यमन्त्री सिंहको नेतृत्वमा गरिएको अनुगमनमा सर्लाहीको बरहथवामा रहेका संकटमोचन हेल्थकेयर, सञ्जीवनी हस्पिटल, हैपीकेयर मेडिकल, सर्लाही गोल्डेन हस्पिटल, युनिट हस्पिटल, भेनस हेल्थ केयर, नवजीवन हस्पिटल, हनुमन्त हस्पिटल, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिकलाई तत्काल बन्द गर्न भनिएको हो।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार, यी अस्पतालहरूलाई अब सेवा सञ्चालन गर्नुअघि आवश्यक कानुनी प्रक्रिया पुरा गर्न, नविकरण गराउन तथा तोकिएको मापदण्ड अनुसार सेवा दिनुपर्नेछ। आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइने लिखित निर्देशन जारी गरिएको ठाकुरले जानकारी दिए।
यसअघि पनि मुख्यमन्त्री सिंहले सर्लाही जिल्लाकै मलंगवा, नवलपुर, लालबन्दी, हरिवन लगायतका क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमन गरी अनियमित रूपमा सञ्चालन भइरहेका अस्पतालहरू बन्द गराएका थिए।
मुख्यमन्त्री सिंहले जनस्वास्थ्यसँग जोडिएको क्षेत्रमा गम्भीर लापरवाही भएको भन्दै त्यस्ता संस्थामाथि शून्य सहनशीलता अपनाइने चेतावनी समेत दिएका छन्।


