पर्सा, चैत्र १३ – ठाकुरराम बहुमुखी क्याम्पसमा मतपेटिका सिल नम्बर फरक रहेको विवादका कारण रोकिएको मतगणना पुनः सुरु गर्ने तयारी भइरहेको छ। मतगणना सुरु गर्नुपर्ने र रोक्नुपर्ने पक्षबीच तीव्र विवाद चलिरहेका बेला केही विद्यार्थी समूहहरू प्रदर्शन जारी राखिरहेका छन् भने केही कानुनी उपचारका लागि अदालतसम्म पुगेका छन्।
यसैबीच, अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार पवन यादवले उच्च अदालतमा रिट दायर गरेका थिए, जसमा अदालतले परमादेश जारी गरेको छ। अदालतले यो विषयमा चैत्र १४ गते छलफलका लागि पेशी तोक्दै १५ दिनभित्र ठाकुरराम बहुमुखी क्याम्पसले यादवको मागअनुसार निषेधाज्ञा किन जारी नगर्ने भन्नेबारे स्पष्टिकरण दिन आदेश दिएको छ। यादवको पक्षबाट वरिष्ठ अधिवक्ता दीपकराज भण्डारीले बहस गरेका थिए।
यद्यपि, अदालतको आदेश आउँदै गर्दा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्यालले न्यायालयको निर्देशनलाई अवज्ञा गर्दै मतगणना सुरु गर्ने तयारी गरिरहेका छन्। यस कदमले थप विवाद सिर्जना गर्ने संकेत देखिएको छ।
यसबीच, मतगणनासम्बन्धी विवाद चुलिँदै जाँदा निर्वाचन अधिकृतले हिजो राजीनामा दिएका छन्। तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन। यी सबै घटनाक्रमले ठाकुरराम क्याम्पसको निर्वाचन प्रक्रिया झन् जटिल मोडमा प्रवेश गरेको छ।


