निरञ्जन शाह
चैत ११, वीरगंज
नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंजमा पुनः रात्रि बजार सञ्चालन हुने भएको छ। वीरगंज महानगरपालिकाले आदर्शनगरस्थित पुरानो बसपार्क क्षेत्रमा तीन दिनसम्म रात्रि बजार सञ्चालनको तयारी गरेको छ। मेयर राजेशमान सिंहका अनुसार चैत २९ देखि ३१ गतेसम्म रात्रि बजार सञ्चालन गरिनेछ।
यो विशेष बजारले वीरगंजको आर्थिक गतिविधि प्रवद्र्धन गर्ने र रातिसम्म बजार खुला राख्ने संस्कृतिलाई बलियो बनाउने अपेक्षा गरिएको छ। यसअघि पनि महानगरले रात्रि बजार आयोजना गर्दै आएको थियो, जसले स्थानीय व्यापारलाई टेवा पुर्याएको थियो।
रात्रि बजारमा खानाका परिकार, लत्ताकपडा, कस्मेटिक्स, भाँडाकुडा लगायतका सामग्रीको स्टल रहनेछ। यस आयोजनाका लागि महानगरले विभिन्न संघसंस्थासँग सहकार्य गरेको छ। ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगंज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरको समन्वयमा कार्यक्रम अघि बढाइँदैछ। स्टल बुकिङ केही दिनभित्रै खुला गरिने ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिएका छन्।


