निरंजन शाह,
पर्सा – नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले आज रामगढवास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि विकास मण्डललाई उम्मेदवार घोषणा गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै सभापति क्षेत्रीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने समयमा आफ्नै पार्टीभित्र विभिन्न उपगुट खडा गरेर पार्टीको बदनाम गर्ने प्रयास भइरहेको बताएका छन्। उनले यसप्रकारको गतिविधिलाई रोक्न आफू बाध्य भएर सार्वजनिक रूपमा जानकारी गराएको बताए।
क्षेत्रीले पार्टीको सिद्धान्त, नीति तथा नियम विपरीत कार्य गर्ने जोसुकैलाई कारबाही गरिने चेतावनी दिए। पार्टीको झन्डा दुरुपयोग नगर्न आग्रह गर्दै उनले यदि कसैले निवेदन दिएमा कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरे।
पार्टी सभापति तथा मन्त्रीसमेत रहेका क्षेत्रीले नेपाल विद्यार्थी संघ (नेविसंघ) ऐतिहासिक संगठन भएको उल्लेख गर्दै २०२७ साल वैशाख ६ गते नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापना भएको संगठनलाई अहिले बदनाम गर्न खोज्नु गलत भएको बताए।
उनले असन्तुष्ट पक्षहरूसँग पटक–पटक वार्ता भए पनि निष्कर्ष ननिस्किएको र अहिले आएर निर्वाचन आचारसंहिताविपरीत गतिविधि भएको भन्दै निर्वाचन आयोग र प्रहरी प्रशासनलाई जानकारी गराइसकेको बताए।
पत्रकार सम्मेलनमा उपसभापति रामनारायण कुर्मी, महाधिवेशन प्रतिनिधि राकेश सही, प्रवक्ता रमेश पाण्डे, पूर्व उपसभापति प्रकाश उपाध्याय, सचिव इमतियाज आलम, सहसचिव नवीन सिंह लगायतको उपस्थिति थियो।


