सर्लाही, १२ मार्च। सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ। मलङ्गवा नगरपालिका-८, गोरखकाली नाकाबाट नक्कली नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद मंसुर, रौतहटको गढीमाई नगरपालिका-९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका-७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका-२ की ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।
भारततर्फबाट मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई विशेष सूचना प्राप्ति पछि खानतलासी गर्दा नक्कली नोट फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्। प्रहरीले उनीहरूको साथबाट १७६ थान नक्कली एक हजार दरका नोट बरामद गरेको छ, जुन ८८ थान बन्डलमा तयार पारिएको थियो।
सर्लाही जिल्ला अदालतले पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीको अनुसार यस गिरोहमा अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने आशङ्का गरिएको छ।


