निरंजन शाह,
वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित आदर्शनगरको प्रसिद्ध शक्तिपीठ गहवा माई मन्दिर परिसरमा बाउन्ड्री वाल तथा गेट निर्माण कार्यको शिलान्यास गरिएको छ। साथै, भवानीपुर स्कुल भवनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएपछि यसको निर्माण कार्य पनि सुरु हुने भएको छ।
सांसद जयसवालको पहलमा १ करोडको योजनाको थालनी
संघीय सांसद बिना जयसवाल कुर्मीको प्रमुख आतिथ्यतामा सोमबार आयोजित भूमिपूजन तथा शिलान्यास कार्यक्रममा करिब १ करोड रुपैयाँको संसदीय विकास योजना अन्तर्गत मन्दिरको बाउन्ड्री वाल, गेट निर्माण तथा माटो भराइ कार्य अघि बढाइएको छ। त्यसैगरी, भवानीपुर स्कुल भवन निर्माणका लागि छुट्याइएको १ करोड बजेट अन्तर्गत पहिलो चरणको काम सुरु भएको छ।
सांसद जयसवालका अनुसार गहवा माई मन्दिर वीरगन्जवासीको आस्थाको केन्द्र भएकाले यस मन्दिरको संरक्षण तथा सौन्दर्यीकरणका लागि उनले पहल लिएकी हुन्। यस क्षेत्रमा समितिको सिफारिसअनुसार बजेट विनियोजन गरिएको बताउँदै उनले मन्दिरसम्म पुग्ने सडकमा देखिएको धुलो, खाल्डाखुल्डीको समस्या समाधानका लागि सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाइन्।
मन्दिर क्षेत्रमा थप विकासको योजना
गहवा माई मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाह ले आगामी दिनमा सामुदायिक भवन निर्माण तथा देवीको प्रतिमा स्थापना गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार, यो मन्दिर क्षेत्रको पर्यटकीय तथा धार्मिक महत्वलाई बढाउने लक्ष्य राखिएको छ।
उल्लेखनीय उपस्थिति
शिलान्यास कार्यक्रममा रा.प्र.पा.का जिल्ला अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, समाजसेवी नन्दु श्रीवास्तव, चन्दन मिश्रा, पानालाल पटेल, मन्दिर व्यवस्थापन समितिका विभिन्न पदाधिकारी, समाजसेवी, उद्योगी, व्यापारी, स्थानीय जनप्रतिनिधि तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रा. डा. प्रमोद कुमार सर्राफ ले गरेका थिए।
वीरगन्जको धार्मिक तथा शैक्षिक विकासमा नयाँ कदम
गहवा माई मन्दिर परिसरलाई व्यवस्थित बनाउन गरिएको यो पहलसँगै स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। साथै, भवानीपुर स्कुल भवन निर्माणले शैक्षिक पूर्वाधारमा सुधार ल्याउने विश्वास गरिएको छ।


