निरञ्जन शाह,
बिरगंज महानगरपालिका स्थित नारायणी रंगशालामा नेशनल प्याब्सन पर्साले आयोजना गरेको जुनियर टी-२० क्रिकेट प्रतियोगिता भव्य समारोहका बीच उद्घाटन गरिएको छ। पूर्व मन्त्री माननीय जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादव, सचिव इन्द्र देव शाह, पर्साका उपाध्यक्ष बिनोद गुप्ता, कोषाध्यक्ष राजेश कुमार लिम्बू, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताका संयोजक सन्तोष साहले सम्पूर्ण तयारीका बारेमा जानकारी गराएका थिए।
पूर्व मन्त्री जितेन्द्र सोनलले खेलकुदको विकासका लागि नेशनल प्याब्सनको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मधेस सरकारले खेलकुद ऐन पारित गरेसँगै अब प्रदेशमा खेल गतिविधिहरू थप विस्तार हुने विश्वास व्यक्त गरे। साथै, उनले मधेस प्रदेशमा खेलकुदको सम्भावना उच्च रहेको र सरकारलाई यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए। क्रिकेट विश्वभर लोकप्रिय खेल भएकाले यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत गर्ने उनको भनाइ थियो।
यस प्रतियोगितामा पर्सा जिल्लाका नेशनल प्याब्सनमा आबद्ध १६ विद्यालयका छात्रछात्राहरूले सहभागिता जनाएका छन्। प्रतियोगितामा सहभागी विद्यालयहरूमा ज्ञान निकेतन, विद्या सदन, सिद्धार्थ एकेडेमी, एन्जल वर्ल्ड, ओएसिस माध्यमिक विद्यालय, मदरल्याण्ड, पर्सा ईश्वर ईङ्लिस बोर्डिङ स्कूल, आईडियल एकेडेमी, माउन्ट हर्मन, श्री जेपीएस एकेडेमी, ज्ञानोदय मावि, मिशन एकेडेमी, विभूति एकेडेमी, ममता विद्या मन्दिर, शान्ति निकेतन स्कूल, श्री कन्हैया साह ई.बो. स्कूल आदि रहेका छन्।
उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।


