निरञ्जन शाह
फागुन २४, वीरगंज
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरगंज जेसिसले समाजमा महत्वपूर्ण योगदान पुर्याएका चार महिलालाई सम्मान गरेको छ। शनिबार वीरगंज पब्लिक कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा संस्थापक सदस्य उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपाध्यक्ष मधु राणा, महिला अधिकारकर्मी श्रीला सरकार, तथा प्रहरी जवान कमला कुमारी तामाङलाई सम्मान प्रदान गरिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनीहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे। उनले महिलामाथिको हिंसा र विभेद रोक्न घरपरिवारबाटै सचेतना अभियान थाल्नुपर्ने बताउँदै, महिलाहरूलाई सशक्त बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने उल्लेख गरे।
वीरगंज जेसिस २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सिमरा जेसिसका अध्यक्ष द्वारिका पौडेल, सञ्चारकर्मी क्रान्ति साह, अभिलाष गुप्ता, राहुल गुप्ता, मानव सेवा आश्रमका देवेश गुप्तालगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


