बिरगंज, फाल्गुन २४
बिरगंज समाज सेवाको आयोजनामा आज नारायणी अस्पतालको प्राङ्गणमा ४४ औं हप्ता निःशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न भयो। प्रत्येक शनिबार बिहान १० बजे सञ्चालन हुने यो अभियान अन्तर्गत आज पनि सैयौं सेवाग्राहीलाई निःशुल्क भोजन गराइयो।
आजको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि रहनुभएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, नारायणी अस्पतालका प्रशासन प्रमुख डा. उदय नारायण सिंह लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
पोसिलो भोजन, ठूलो सहभागिता
निःशुल्क भोजन शिविरमा स्वादिष्ट दाल-भात, पनिर आलु मिक्स तरकारी र अचार वितरण गरिएको थियो। बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताका अनुसार हरेक हप्ता ४५० देखि ५०० जना लाभान्वित हुँदै आएका छन्। “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो, इच्छुक महानुभावहरू हामीसँग मिलेर सहयोग गर्न सक्नुहुन्छ,” उनले आग्रह गरे।
सामाजिक सेवामा निरन्तरता
बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले यो अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। “यस पुण्यकार्यमा सबैको मनदेखि सहयोग आवश्यक छ,” उनले भने। सचिव प्रकाश बाहेतीले गरीब, बिरामी, असहाय तथा अस्पतालका कुरुवाहरूलाई खाना खुवाउन पाउँदा आत्मसन्तुष्टि मिल्ने बताए। उनले मनकारी दाताहरूलाई तन, मन, धनले सहयोग गर्न अपिल गरे।
स्वयंसेवकहरूको सक्रिय भूमिका
आजको निःशुल्क भोजन वितरण कार्यक्रममा अध्यक्ष अशोक कुमार गुप्ता, उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सरार्फ, सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, राजेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्या, निसान्त लाठ, देवव्रत आर्या लगायतका समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय योगदान रह्यो।
यस किसिमका सामाजिक कार्यहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित बिरगंज समाज सेवा आगामी दिनहरूमा पनि निरन्तर रुपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।


