१७ फागुन, वीरगञ्ज – मधेस प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीमध्ये एक रहेको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ शनिबारदेखि सुरु हुँदैछ। आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका अनुसार आर्दशनगर रंगशालामा अपराह्न २ बजे खेलको उद्घाटन हुनेछ।
महानगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नेछन्। फागुन २४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न टिमहरूको सहभागिता रहनेछ।
आजको पहिलो खेलमा वीरगञ्ज युनाइटेड र गरवाल डाइमण्ड फुटबल क्लबबीच अपराह्न २:३० बजे प्रतिस्पर्धा हुनेछ। नकआउट शैलीमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा भाग लिने टिमहरूमा सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब (सर्लाही), नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब (दिल्ली), एपिआई चर्च ब्वाइज युनाइटेड (काठमाडौं), सलहेश फुटबल क्लब (सिराहा) र आयोजक वीरगञ्ज युनाइटेड क्लब रहेका छन्।
विजेता टोलीले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले पुरस्कार राशी तथा प्रतियोगिताको अन्य व्यवस्थाबारे जानकारी गराएका छन्।


