वीरगञ्ज, पर्सा – अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर वीरगञ्ज महानगरपालिकाअन्तर्गत गठन भएको भोजपुरी प्रतिष्ठान वीरगञ्जले शुक्रबार लायन्स क्लब अफ सेसमी एकेडेमीको सहकार्यमा अन्तरविद्यालय वकृत्वकला प्रतियोगिता आयोजना गर्यो।
कार्यक्रम वीरगञ्ज महानगरपालिकाको तालिम केन्द्र सभाहलमा सम्पन्न भएको थियो, जहाँ प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षता रहेको थियो।
प्रतियोगितामा प्रमुख अतिथिका रूपमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण उपस्थित थिए। साथै, लायन्स क्लब अफ सेसमी एकेडेमीकी डिपुटी प्रमुख आश्मा सिंह यादव, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले भाग लिएका थिए। प्रतियोगीहरूले मातृभाषाको महत्त्व, यसको संरक्षण र प्रवर्द्धनका चुनौतीहरूबारे आफ्ना विचार राख्दै भोजपुरीसहित सम्पूर्ण मातृभाषाहरूको सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिए।
प्रतियोगितामा सिद्धार्थ विद्यालयका चन्द्रकान्त महतो प्रथम स्थान हासिल गर्दै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु १,५०० पुरस्कार प्राप्त गरे। त्रीजुद्ध विद्यालयका रोहित साह कानु दोस्रो स्थानमा रहँदै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु १,००० प्राप्त गरे भने सिद्धार्थ विद्यालयकी अन्तिमा कुमारी रौनियार तेस्रो स्थानमा रहँदै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु ५०० पुरस्कार प्राप्त गरिन्। अन्य ९ जना सहभागीलाई प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरिएको थियो।
प्रतियोगिताको मूल्यांकन समाजसेवी आश्मा सिंह यादव, पत्रकार जय यादव र पत्रकार सुर्य शुभचिन्तकले गरेका थिए। निर्णायक मण्डलले प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन गर्दै उनीहरूलाई आगामी दिनमा अझ राम्रो प्रस्तुतिका लागि सुझाव दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि अरविन्द लाल कर्णले गमलामा बिरुवा रोपेर उद्घाटन गरे। उनले मातृभाषा हाम्रो पहिचान भएको बताउँदै यसको संरक्षणका लागि सबैले योगदान दिनुपर्नेमा जोड दिए। अन्य अतिथिहरूले पनि मातृभाषाको महत्त्वबारे चर्चा गर्दै विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तव्य श्याम सर्राफले दिएका थिए भने प्रतियोगिताको उद्देश्यबारे पत्रकार अजय चौरसियाले जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन पत्रकार माधुरी महतोले गरेकी थिइन्।
अन्त्यमा, प्रतिष्ठानकी अध्यक्ष अनिता साहले प्रमुख अतिथि, अन्य अतिथिहरू तथा शिक्षकहरूलाई भोजपुरी भाषाको पुस्तक उपहार दिँदै सम्मान गरिन्। साथै, सहभागी विद्यार्थीहरू तथा लायन्स क्लब अफ सेसमी एकेडेमी परिवारलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरियो।


