वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत गठित भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा प्रतिष्ठानका सल्लाहकार तथा भाषा आयोगका सदस्य गोपाल अश्कद्धारा लिखित पुस्तक “आधुनिक भोजपुरी समालोचना” को लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बुधबार वीरगंज-४ स्थित कन्या माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भारत बिहारका प्रख्यात साहित्यकार प्रो. डा. हरिन्द्र हिमकरले पुस्तकका विविध पक्षबारे समीक्षा तथा टिप्पणी प्रस्तुत गरे।
लेखक अश्कले भोजपुरी, नेपाली र हिन्दी भाषामा उल्लेखनीय कृतिहरू सिर्जना गरी नेपाल र भारत दुवै ठाउँमा ख्याति कमाएको चर्चा गर्दै प्रमुख अतिथि हिमकरले उक्त पुस्तक भोजपुरी भाषा, कला र संस्कृतिको विषयवस्तु समेटेर तयार पारिएकामा हर्ष व्यक्त गरे।
भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे “हेरम्ब”, डा. विश्वम्भर शर्मा र कुमार सचितानन्दले पुस्तकको विषयवस्तुमा आफ्ना विचार तथा टिप्पणीहरू राखेका थिए।
कार्यक्रममा अखिल भारतीय भोजपुरी साहित्य सम्मेलन भारतका साहित्य मन्त्री गुलरेज सहजाद, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, उपाध्यक्ष रितुराज, कलवार सेवा समाजका पूर्व अध्यक्ष इन्द्रदेव साह, विक्रम साह, विजयकिशोर पाण्डे, शतिस चन्द सज्जल, अनिशकान्त कुश्वाहा, लेखिका अस्मिता पटेल, छोटेलाल साह तथा प्रतिष्ठानका सदस्यहरू, साहित्यकार, कलाकार, सञ्चारकर्मी लगायतको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमका लागि प्रतिष्ठानका कार्यसमिति सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजिकरणको भूमिका श्याम सर्राफले निर्वाह गरेका थिए।


