बीरगंजको कुम्हालटोलमा अवस्थित मुनलाईट इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ४४औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको खेलमैदानमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा समाजसेवी प्रकाश उपाध्याय, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं, वडा सदस्य सञ्जु दहाल, मनोज साह लगायत अन्य अतिथि उपस्थित थिए। विद्यालयका सञ्चालक श्याम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह, नवदीप एकेडेमीकी सञ्चालिका एवं प्रधानाध्यापिका समेत सहभागी थिए।
कार्यक्रममा समाजसेवी प्रकाश उपाध्यायले मुनलाईट इङ्लिस बोर्डिङ स्कुलले शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेको चर्चा गर्दै विद्यालयले विद्यार्थीलाई आधुनिक शिक्षा प्रणालीअनुसार उत्कृष्ट रूपमा तयार गरिरहेको बताए। उनले विद्यालयको निरन्तर प्रगति देखेर खुशी लागेको र भविष्यमा अझ राम्रो उपलब्धि हासिल होस् भन्ने शुभकामना व्यक्त गरे।
प्रमुख अतिथि प्रदीप चौरसियाले विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्य, सांस्कृतिक झल्को दिने कार्यक्रम र उत्कृष्ट शैक्षिक वातावरणप्रति प्रशंसा व्यक्त गरे। उनले विद्यालयलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइरहने प्रतिबद्धता जनाए।
कार्यक्रममा पी.जी.देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, विभिन्न अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो। अन्य विद्यालयका प्रधानाध्यापकहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक सदस्य देवेश मानवसेवा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, शिक्षक मार्टिन मोक्तान लगायतका व्यक्तित्वहरू कार्यक्रममा उपस्थित थिए।
मुनलाईट इङ्लिस बोर्डिङ स्कुलले ४४ वर्षदेखि शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको विद्यालयका पदाधिकारीहरूले बताएका छन्। कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका पूजा भट्टले गरेकी थिइन्।


