हेटौंडा, माघ २८ – हेटौंडामा लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित भित्री सडकखण्डबाट अमन प्रजा नामक युवकलाई नियन्त्रणमा लिएको हो।
मनहरी गाउँपालिका–४, मसिने हाडीखोलाका स्थायी बासिन्दा २० वर्षीय प्रजा हाल हेटौंडा–२, चौकीटोलमा डेरा गरी बस्दै आएका थिए। उनलाई पैदल हिँडिरहेको अवस्थामा फेला पारेर जाँच गर्दा, उनले लगाएको पाइन्टको खल्तीबाट ५७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ। अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।


