वीरगञ्ज महानगरपालिका-१५, कविशिरोमणी टोलमा अवस्थित सैन्ट जोन माध्यमिक विद्यालय स्थापना भएको ३१ वर्ष पुगेको छ। यस अवसरमा विद्यालय परिसरमै भव्य वार्षिकोत्सव कार्यक्रम आयोजना गरियो। कार्यक्रमको अध्यक्षता विद्यालयकी प्रबन्ध निर्देशक डा. मोनिका यादव सिंह ले गरेकी थिइन् भने उद्घाटन वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह ले गरेका थिए।
विद्यार्थीको विकासलाई प्राथमिकता
कार्यक्रमका क्रममा महानगर प्रमुख सिंह ले निजी विद्यालयहरूले शिक्षालाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने र विद्यार्थीको बहुपक्षीय विकासलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। वीरगञ्जलाई समृद्ध शहर बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै उनले अभिभावकलाई पनि आफ्ना सन्तानको शैक्षिक प्रगतिमा निगरानी राख्न आग्रह गरे।
विद्यालयको समर्पण
विद्यालयका सञ्चालक डा. सरोज सिंह ले विद्यार्थीको सर्वाङ्गीण विकासमा कुनै कसर बाँकी नराखिएको बताए। अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई जोड दिँदै विद्यालयले विद्यार्थीहरूलाई समग्र रूपमा सक्षम बनाउने लक्ष्य लिएको उनले उल्लेख गरे।
प्रमुख अतिथिहरूको सहभागिता
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ४ का अध्यक्ष जगत साह कानु, बालरोग विशेषज्ञ डा. शैलेश ठाकुर, डा. कुशराज गिरी, नेकपा एमाले पर्साका सचिव महेश दास, जनमत पार्टीका अध्यक्ष ओमप्रकाश सर्राफ, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष अनुप तिवारी, समाजसेवी महेशसिंह धामी, मानव सेवा आश्रमका केन्द्रिय सदस्य देबेश गुप्ता, दन्तरोग विशेषज्ञ डा. सोनी झा, मिराकल किड्सकी सञ्चालक अमृता साह लगायत थुप्रै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको विद्यालयका शिक्षक प्रकाश क्षेत्री ले जानकारी दिए।
विद्यालयको योगदान
विद्यालयका प्रिन्सिपल शुभम तुल्स्यान ले विद्यालयले ३१ वर्षको यात्रामा अभिभावकहरूको माया र समर्थन प्राप्त गरिरहेको बताए। उनका अनुसार विद्यालयमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् भने ५ सयभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत छन्।
सांस्कृतिक प्रस्तुति
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन तथा नाटक प्रदर्शन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। विद्यालयका प्रशासन प्रमुख सचितानन्द सिंह ले वार्षिकोत्सवलाई विद्यार्थीहरूको सिर्जनात्मकता प्रस्फुटन गर्ने अवसरको रूपमा लिएको बताए।


