बिहीबार धादिङमा आयोजना गरिएको लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले संस्कृतिले समाजको पहिचान जोगाउने र विकासमा सहायक भूमिका खेल्ने बताए। “हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले महत्वपूर्ण आधार प्रदान गर्छ,” उपप्रधानमन्त्री सिंहले भने, “त्यसैले आफ्ना पहिचानलाई संरक्षण गर्न हामीले यस्ता महोत्सवहरूलाई निरन्तरता दिनुपर्छ।”

उनले भाषा, संस्कृति र भेषभूषा हराए पहिचान नै मेटिने चेतावनी दिँदै सांस्कृतिक विविधतालाई जीवित राख्न सबैको जिम्मेवारी रहेको औंल्याए। लोकतन्त्रको आगमनपछि कला, धर्म र संस्कृतिको जगेर्नाका लागि अनुकूल वातावरण बनेको उल्लेख गर्दै उनले यस क्षेत्रका महोत्सवहरूले लोक संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, उपप्रधानमन्त्री सिंहले धादिङको विकासका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारबीच समन्वय गरेर कार्य अगाडि बढाउने प्रतिबद्धता जनाए। “आवश्यकतालाई प्राथमिकतामा राखेर योजनाहरू अघि बढाइनेछ। सबै काम एकैचोटि सम्भव छैन, तर नागरिकलाई आवश्यक पर्ने विषयहरूलाई प्राथमिकता दिनेछौं,” उनले भने।
लोकसांस्कृतिक महोत्सवले धादिङको सांस्कृतिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै उनले आयोजकहरूको प्रशंसा पनि गरे।


