
रवि भुजेल २९ पुष २०८१ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी कानुनमा सुधार आवश्यक हुनसक्ने भए पनि कुनै राजनीतिक दललाई फुटाउने वा मिलाउने कार्य आफ्नो जिम्मेवारी नभएको स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बालुवाटारमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा झुठा प्रचार र नकारात्मक सन्देश फैलाइएकोप्रति चिन्ता व्यक्त गरे। उनले दलको फुट्ने वा मिल्ने कुरा पूर्णतः ती दलकै आन्तरिक विषय रहेको उल्लेख गरे।
ओलीले विगतमा आफू प्रधानमन्त्री रहँदा दल विभाजनको लागि संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशतको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्थाका कारण आएको समस्यालाई हल गर्न अध्यादेश ल्याएको तर त्यसपछि विरोध भएपछि फिर्ता लिएको स्मरण गराए। उनले पछिल्लो समय २० प्रतिशत सांसदको समर्थनले दल विभाजन गर्न सकिने व्यवस्था गर्नेहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको बताए।
प्रधानमन्त्रीले मुलुकको विकास र जनताको सेवामा केन्द्रित भएर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेशहरू सिफारिस गरेको जानकारी गराए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्ता अध्यादेशको विरोध गरेको भनी गलत सूचनाको प्रचार गरिएकोमा उनले ध्यानाकर्षण गराउँदै पत्रकारिताले यस्ता भ्रामक सूचनाबाट जोगिनुपर्ने बताए।
अध्यादेशको गलत प्रचारप्रति असन्तुष्टि जनाउँदै उनले देशको हितमा दिनरात नभनी काम गर्ने आफ्नो दायित्व रहेको उल्लेख गरे। “हामीले लुकेर वा छलकपट गरेर काम गर्दैनौं, देशको हितमा जुनसुकै बेला खुलेआम काम गर्न तयार छौं,” उनले भने, “राति राम्रो काम गर्न हुँदैन भन्ने छ र?”
प्रधानमन्त्री ओलीको यो भनाइले सरकारको कार्यप्रति नकारात्मक धारणा बनाउने प्रयासलाई चुनौती दिएको छ भने उनले प्रेस स्वतन्त्रताको महत्वमा पनि जोड दिएका छन्।


