
धनगढी । बर्दियामा बाघको आक्रमणले एक महिलाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका–७, सुन्दरपुर गाउँकी ४० वर्षीय पदमकला थापा बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघको शिकार भएकी हुन्।

खुला स्थानमा आक्रमण गरेर बाघले थापालाई जङ्गलभित्र तानेको थियो। ठाकुरबाबा नगरपालिकाका मेयर तिकराम लम्सालका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, र स्थानीयवासीसहितको टोलीले घटनास्थलबाट झन्डै ७ सय मिटर भित्रबाट शव उद्धार गरेको छ। प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया पठाउने तयारी भइरहेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार, बाघलाई नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली सामुदायिक वनमा खटिसकेको छ। बाघलाई नियन्त्रणमा लिन ढाट लगायतका अन्य प्रविधि प्रयोग भइरहेको उनले जानकारी दिए।


