काठमाडौं – नेपालमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा आइपुगेको छ। सरकारको आगामी माघ २२ गतेबाट देशव्यापी खोप अभियानको तयारीका लागि परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले १७ लाखमध्ये १५ लाख मात्रा खोप भित्र्याएको जनाएको छ। बाँकी २ लाख मात्रा पुस २८ गते आइपुग्ने अपेक्षा गरिएको छ।

पाठेघरको मुखको क्यान्सर निवारणका लागि सरकारद्वारा एचपीभी खोप अभियान सन् २०८१/८२ मा सञ्चालन गरिने निर्णय भएको छ। देशभर बढ्दै गएको पाठेघरको मुखको क्यान्सरबाट अकाल मृत्युको जोखिम कम गर्न करिब १७ लाख किशोरीलाई यो खोप दिइने योजना छ।

यो अभियान माघ २२ गतेदेखि सुरु हुनेछ, जसअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ। एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउन मद्दत गर्ने विश्वास गरिएको छ। पाठेघरको क्यान्सरको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) हो भन्ने चिकित्सकीय धारणा छ।
सरकारको यो कदमले पाठेघरको क्यान्सरको जोखिम घटाउने तथा किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


