वीरगञ्ज । बाराको कलैयास्थित श्री तिन चन्द्र माध्यमिक विद्यालयमा मंगलबार बिहान आएको भूकम्पले १० जना विद्यार्थी बेहोस भए। उनीहरूलाई तत्कालै कलैयाको प्रादेशिक अस्पतालमा पुर्याइयो, जहाँ उनीहरूको सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ।

चीनको तिब्बत केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्युडको भूकम्पले नेपाल र भारतका केही क्षेत्रमा हल्का झट्का दिएको थियो। बारालगायत धेरै स्थानहरूमा भूकम्पको हल्का कम्पन महसुस भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट बाहिर निस्किएका थिए। त्रासका कारण केही विद्यार्थीहरू बेहोस भएका थिए।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरीले त्रासका कारण पठनपाठन स्थगित गर्नुपरेको जानकारी दिए। “विद्यार्थीहरू अझै पनि डराएका छन्, त्यसैले हामीले सबैलाई घर पठायौं,” गिरीले भने।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले अस्पताल पुगेर विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बारामा कुनै भौतिक क्षति नभएको स्पष्ट गरे। “विद्यार्थीहरूको स्वास्थ्य अवस्था सामान्य छ, र अहिले सम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त भएको छैन,” उनले भने।

भूकम्पको कम्पनले भारतको बिहार र उत्तर प्रदेशमा समेत प्रभाव पारेको थियो। स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। प्रहरीले आपतकालीन अवस्थामा उद्दारका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।


