बिरगंज। मधेसका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरोको प्रभावले चिसो तीव्र रूपमा बढ्दै गएको छ। यसले स्थानीय जनजीवनलाई प्रभावित पारेको छ।

चिकित्सकहरूले चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो खाना खान, र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामीहरूको स्वास्थ्य जोखिम उच्च भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

चिकित्सक चन्देश्वर महासेठले बाथ र गेठियाका रोगीहरूका लागि चिसो थप चुनौती बन्न सक्ने बताए। “बिहान मर्निङ वाक नगर्न, र गर्नै परे न्यानो लुगा लगाउनुपर्छ। शरीरलाई तातो राख्ने उपाय अपनाउन आवश्यक छ,” उनले भने।
जनकपुरधाम प्रादेशिक अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहले पछिल्ला दिनहरूमा रुघाखोकी, ज्वरो, र कोल्ड डायरियाका बिरामीहरूमा वृद्धि भएको जानकारी दिए। “कुहिरोका कारण चिसो अझै केही दिन रहन सक्ने देखिएको छ। यस अवस्थामा सतर्कता अनिवार्य छ,” उनले भने।
प्रदेश सरकारले चिसोको असर कम गर्न राहत पहल थालेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले प्रदेशभर कम्बल वितरण गरिसकेको र चेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिए।
सुझावहरू
- न्यानो कपडा लगाउन र शरीर तातो राख्न आवश्यक छ।
- अत्यावश्यक बाहेक घरबाहिर नजानु राम्रो।
- झोलिलो र पोषिलो खाना खानुपर्छ।
चिसोको सामना गर्न सबैले सतर्क रहनु आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ।


