
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चिसो अत्यधिक बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ। सदरमुकाम सल्लेरीमा तापक्रम माइनस एक डिग्री सेल्सियसमा झरेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।
चिसोका कारण जनजीवन प्रभावित
सल्लेरी क्षेत्रमा पछिल्ला केही दिनयता घाम नलाग्दा चिसो झन् तीव्र भएको छ। मानिसहरू आगो तापेर समय बिताउन बाध्य छन्। बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिहरूलाई चिसोले बढी असर गरेको छ। बालबालिकाको पढाइ प्रभावित हुनुका साथै वृद्धवृद्धा स्वास्थ्य समस्याबाट ग्रस्त हुन थालेका छन्।

जिल्ला अस्पताल फाप्लुमा चिसोका कारण बिरामीहरूको चाप बढेको छ। अस्पतालका प्रमुख डा. प्रशान्त शाहका अनुसार श्वासप्रश्वास र नसासम्बन्धी समस्याका बिरामीको संख्या उच्च छ। “चिसोले आकस्मिक कक्षदेखि सबै शय्यासम्म भरिभराउ छ,” उनले भने।

खुम्बु क्षेत्रमा अवस्था झन् कठिन
उच्च हिमाली क्षेत्र खुम्बुमा तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ। चिसोका कारण विद्यालयहरू बन्द भएका छन् भने बालबालिकाहरू घरभित्र बस्न नसकी आगो तापेर समय बिताइरहेका छन्। खुम्बुका करिब ७० प्रतिशत व्यवसायी र स्थानीयले जाडो छल्न क्षेत्र छाडेको बताइएको छ।
सगरमाथा क्षेत्रका होटल, लज, क्याम्पिङ साइटलगायत स्थानहरू सुनसान भएका छन्। पर्यटकहरूको चहलपहल घटेकाले होटल व्यवसायीहरूले अन्यत्र रोजगारी खोज्न थालेका छन्।
पानी आपूर्तिमा अवरोध
चिसोले पाइपमा पानी जम्न थालेपछि सोलुखुम्बु र खुम्बु क्षेत्रमा खानेपानी आपूर्ति ठप्प भएको छ। स्थानीयले धाराहरू खुला छाड्न थालेका छन्, तर जमेको पानी दिउँसोसम्म पनि नपग्लिँदा समस्या झन् बढेको छ।
विकास निर्माण ठप्प
चिसोका कारण विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलाप प्रभावित भएका छन्। स्थानीयले यस्तो कठ्याङ्ग्रिने चिसोको समयमा क्षेत्रबाट बाहिरिने गरेको बताएका छन्।
हिमाली क्षेत्रको कठोर जाडोका कारण स्थानीय जनजीवन थप कष्टकर बन्न थालेको छ भने चिसोको प्रभाव आगामी दिनमा अझै बढ्ने अनुमान गरिएको छ।


