
काठमाडौं। शुक्रबार साँझदेखि देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण धेरै स्थानमा बदली हुनसक्ने अनुमान गरिएको छ।


महाशाखाका अनुसार शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। यस्तै, लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। विशेषगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च भूभाग तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुन सक्नेछ।
पश्चिमी प्रणालीको प्रभावका कारण देशभर तापक्रम घट्ने र चिसो अत्याधिक बढ्ने सम्भावना रहेकाले जनसाधारणलाई पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ। गर्मी कपडा प्रयोग गर्न, न्यानो ठाउँमा बस्न र स्वास्थ्य सुरक्षामा ध्यान दिन आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।


