

भोजपुर, झापा। भोजपुरमा यात्रु बोकेको स्कार्पियो गाडी गहिरो भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। दुर्घटनामा परेका घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटना भोजपुर नगरपालिका–५ स्थित बोखिमको डाँडाटोल भन्ने ठाउँमा भएको हो। बिहीबार बिहान प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पियो गाडी भित्री सडकखण्डबाट झण्डै २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

मृत्यु हुनेमा झापाको गौरादह–७ का ५५ वर्षीय झम्कबहादुर घले रहेका छन्। घाइतेमध्ये स्कार्पियो चालक सुनसरी धरान–८ का सुदीप लिम्बू र एक बालक पनि रहेका छन्।
गम्भीर घाइते काठमाडौँ रेफर
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम दाहालका अनुसार गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौँको केएमसी अस्पताल पठाइएको छ। गम्भीर घाइते हुनेमा भोजपुर नगरपालिका–५ की ३५ वर्षीया लाक्पादिकी शेर्पा, सोही ठाउँका ४१ वर्षीय रामकुमार राई, र धरान उपमहानगरपालिका–२ की ३८ वर्षीया इहायाराना सुब्बा रहेका छन्।
अन्यको उपचार भोजपुर र धरानमा
घाइते अन्य व्यक्तिहरूको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। केहीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता दाहालले बताए।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। स्कार्पियो गाडी भ्रमणका लागि प्रयोग गरिएको अनुमान गरिएको छ।


