
बीरगञ्ज, ११ पुस
बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार गेटमा सशस्त्र प्रहरी बलले करिब ६ केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पुस ११ गते बिहान ४:४५ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक सुनबहादुर स्याङ्तानको नेतृत्वमा रहेको डग स्क्वाड टोलीले भारततर्फ पैदल जाँदै गरेका धुरी राम र लाल बहादुर महतोलाई चेकजाँच गर्दा गाँजा फेला पारेको हो।


पक्राउ परेका व्यक्तिहरु भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको माधोपुर वैरिया गाउँका स्थानीय हुन्। धुरी राम वडा नं. १० मा बसोबास गर्छन् भने लाल बहादुर महतो वडा नं. ५ का निवासी हुन्।
बरामद गरिएको गाँजा ५.९६४ केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी चौकी ईनर्वा, पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरीको सीमा सुरक्षामा खटिएको टोलीले नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषध तस्करीलाई नियन्त्रण गर्न सक्रिय रहेको बताएको छ।


