मिति: २०८१ पुष ९
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रीपरिषदको बैठकले पर्सा जिल्लाको जनसङ्ख्याको चाप, सेवा माग, दूरी र लागतलाई मध्यनजर गर्दै उक्त कार्यालय खोल्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार, नागरिकलाई छिटो, छरितो र मैत्री सेवा प्रदान गर्ने उद्देश्यले सो निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ।
पर्सा जिल्लामा सेवाग्राहीले लामो समयदेखि मालपोत र नापी कार्यालयको पहुँच नजिकै स्थापना गर्न माग गर्दै आएका थिए। यो निर्णयले नागरिकलाई समयमै सेवा प्राप्त गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।
तत्कालका लागि पोखरिया नगरपालिकामा कार्यालय स्थापना गरिनेछ, जसले सेवाग्राहीको समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ। सरकारको यो कदमले स्थानीय तहमा सेवा प्रवाह थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।


