काठमाडौं – मुग्लिन–काठमाडौं सडक खण्ड आज (आइतबार) देखि पुस १३ गतेसम्म हरेक दिन तीन घण्टा बन्द हुने भएको छ। निर्माणाधीन सडकको स्तरोन्नति र विस्तारका क्रममा केही स्थानमा कटान गर्नुपर्ने भएकाले नागढुङ्गा–मुग्लिन सडक आयोजनाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यातायात बन्द गरिने जानकारी दिएको छ।

सडक आयोजनाले सूचना जारी गर्दै सो समयमा सवारी चालकलाई लेन अनुशासन पालना गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। अत्यावश्यक सेवा अन्तर्गतका सवारी साधन जस्तै एम्बुलेन्स, प्रहरीका गाडी र दमकललाई भने आवतजावतमा रोकावट हुने छैन।
आयोजनाका पश्चिम खण्ड इन्जिनियर विजय दराईका अनुसार, पोखरेभीर मोड सुधारका क्रममा नौबीसेबाट गजुरीतर्फ जाने भारी सवारी साधनलाई गल्छी–बैरेनी मार्गमा रोकिनेछ भने हलुका सवारी साधनलाई जरेखेतमा रोकिने व्यवस्था गरिएको छ।
यस्तै, चितवनबाट नौबीसेतर्फ जाने गाडीलाई चालीसे र घाटबेँसी क्षेत्रमा रोकिनेछ। मुग्लिनबाट मलेखुतर्फ जाने सवारीका लागि विशालटार मोड सुधार भइरहेको हुँदा मझिमटार र चरौंदी बजारमा रोक्ने योजना बनाइएको छ।
आयोजनाले सर्वसाधारणलाई यात्रा योजनामा सावधानी अपनाउन र यातायात अवरोधलाई दृष्टिगत गर्दै आवश्यक तयारी गर्न आग्रह गरेको छ।


