बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अदालतमा दायर गरेको रिट उच्च अदालत विराटनगर, इलाम इजलासले खारेज गरेको छ। मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरेसँगै बैंकहरूले उनलाई दिएको ऋण असुल गर्न कानुनी बाटो खुलेको छ।

कुमारी बैंकको विर्तामोड शाखासहित चारवटा बैंकविरुद्ध दायर रिटमा टीकाराम अधिकारीले दुर्गा प्रसाईंको तर्फबाट बहस गरेका थिए। प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि कुमारी बैंकसहित अन्य तीन बैंकबाट ऋण लिएका थिए।
बैंकहरूले ऋण असुलीका लागि ताकेता गरेपछि प्रसाईंले निषेधाज्ञाको माग गर्दै अदालतमा रिट दायर गरेका थिए। तर, अदालतले उनको माग खारेज गरिदिएपछि अब बैंकहरूले कानुनी प्रक्रियामार्फत प्रसाईंबाट ऋण असुल गर्न सक्नेछन्।
यो निर्णयपछि प्रसाईंको बैंकविरुद्धको अभियानलाई झड्का लागेको छ भने बैंकहरूले आफ्नो दायित्व पूरा गर्ने बाटो सुनिश्चित भएको छ।


