कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत अवधि थप गर्न कास्की जिल्ला अदालतमा प्रहरीले आठौँपटक म्याद माग गरेको छ। सोमबार सातौँपटक थपिएको म्याद समाप्त भएपछि थप चार दिनको म्यादका लागि प्रहरी अदालत पुगेको हो।

कास्की प्रहरीका अनुसार, अनुसन्धान जारी राख्न थप समय आवश्यक भएकाले अदालतमा निवेदन पेश गरिएको हो। सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदनका आधारमा अदालतसँग म्याद थप माग गरेको जनाएको छ।
रवि लामिछाने सहकारी मुद्दामा मुछिएका छन्। उनका कानुनी टोलीका सदस्यहरूले भने उनलाई जबर्जस्ती हिरासतमा राख्न सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जोडिएको आरोप लगाएका छन्। प्रहरी भने कानूनअनुसारको प्रक्रियामा रहेको दाबी गर्दै लामिछानेको बयान, थप प्रमाण संकलन र अनुसन्धानका लागि समय आवश्यक भएको बताउँछ।
गोर्खा मिडियाका पूर्व सञ्चालक छवि जोशीसँग जोडिएको यो मुद्दामा लामिछाने असोज २ गते पक्राउ परेका थिए। यदि अदालतले म्याद थप अनुमति दिए पनि यो पटकको म्याद अन्तिम हुने सम्भावना रहेको छ।


