वीरगंज। भोजपुरी प्रतिष्ठान वीरगंजको नयाँ कार्यसमिति गठन गरिएको छ। अनिता साहको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति पुनर्गठित गरिएको हो। समितिमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल, र अजय चौरसिया सदस्यका रूपमा चयन भएका छन्।

भोजपुरी प्रतिष्ठानका सल्लाहकारहरूमध्ये भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, सदस्य गोपाल अश्क, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, प्राज्ञ दिनेश गुप्ता, र साहित्यकार प्रमोद पाण्डे रहेका छन्।
२०७९ साल चैतमा संस्थापक अध्यक्ष उमाशंकर द्विवेदीको निधनपछि निष्क्रिय बनेको प्रतिष्ठानलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा पुनः सक्रिय बनाइएको हो।
भोजपुरी भाषा, साहित्य र संस्कृतिको विकासमा प्रतिबद्धता
नयाँ कार्यसमिति गठनको अवसरमा आयोजित कार्यक्रममा महानगर प्रमुख सिंहले भोजपुरी भाषा, संस्कृतिलाई उजागर गर्न र जनस्तरमा लोकप्रिय बनाउन प्रतिष्ठानको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्नुभयो। उहाँले वीरगंजका विद्यालयहरूमा हप्तामा कम्तीमा एक दिन भोजपुरी भाषा र साहित्यसम्बन्धी कक्षा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।
साथै, भोजपुरी संस्कृति झल्काउने संग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिँदै सिंहले भाषा संरक्षण र विकासमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको औंल्याउनुभयो। उहाँले भोजपुरी भाषाको अन्तर्राष्ट्रिय महत्वलाई पनि प्रकाश पार्दै यसको प्रवर्द्धन र सम्मानका लागि सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
स्थानीय भाषाको विकासमा स्थानीयको योगदान अनिवार्य
कार्यक्रमका अध्यक्ष एवम् महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले भोजपुरी भाषा, संस्कृती, रहनसहन र खानपानको प्रवर्द्धन गर्न पुस्तकालय, आर्ट ग्यालरी र पाठ्यक्रम विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। स्थानीय भाषाको उत्थानमा स्थानीयकै सक्रियता महत्वपूर्ण हुने कर्णको भनाइ थियो।
भोजपुरी प्रतिष्ठानको पुनर्गठनपछि भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि थप सक्रियता देखिने अपेक्षा गरिएको छ।


