
रामसीता विवाह पञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि भारतको अयोध्याबाट मंसिर १२ गते प्रस्थान गरेका जन्ती आज जनकपुरधाम आइपुग्नेछन्।

झन्डै पाँच सय साधुसन्तको जन्ती टोली सोमवार राति महोत्तरीको मटिहानीमा बास बसेर आज जनकपुरतर्फ लागेको हो। मटिहानी आइपुग्दा नगर प्रमुख हरिप्रसाद मण्डलसहित स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका थिए।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार जन्ती टोली आज दिउँसो जनकपुर आइपुग्नेछ। उनले नगरवासीलाई जन्तीको भव्य स्वागत गर्न आह्वान गरेका छन्। महन्त रामरोशन दासले भने, “प्रत्येक पाँच वर्षको अन्तरालमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती आउँछ। यो हाम्रो लागि गौरवको क्षण हो। जन्तीका लागि जनकपुरधाममा बास र खानपिनको सबै व्यवस्था मिलाइएको छ।”
मटिहानीबाट हिँडेका जन्ती अपराह्न ३ बजे जनकपुरको बाह्रबिघा मैदानमा पुग्नेछन्। त्यसपछि जन्तीलाई बाजागाजासहित जानकी मन्दिरसम्म ल्याएर स्वागत गर्ने कार्यक्रम रहेको छ।
विवाह पञ्चमीको यो विशेष जन्ती यात्रा २०६१ सालदेखि सुरु भएको हो। प्रत्येक पाँच वर्षमा आयोजना हुने यो परम्पराअनुसार यो चौथोपटक अयोध्याबाट जन्ती जनकपुर आइपुगेका हुन्।
रामजानकी विवाह पञ्चमी महामहोत्सवको अवसरमा जनकपुरधाममा उत्सवको माहोल छ। मंसिर १६ गतेबाट जानकी मन्दिरमा विवाह पञ्चमीको विभिन्न कार्यक्रम चलिरहेका छन्। पहिलो दिन नगरदर्शन सम्पन्न भएसँगै सोमवार विवाह मण्डपमा फूलबारी लीला गरिएको थियो।
जन्तीलाई जानकी मन्दिरमा स्वागत गरेपछि बाह्रबिघा मैदानमा धनुषयज्ञ गरिनेछ। धार्मिक कथनअनुसार, शिव धनुषलाई भगवान् श्रीरामले तीन टुक्रा पारेपछि माता सीता र श्रीरामको विवाह भएको थियो।

यो ऐतिहासिक अवसरले जनकपुरमा धार्मिक, सांस्कृतिक, र पर्यटनको रौनक थपेको छ। जन्तीको आगमनसँगै विवाह पञ्चमीको उत्साह अझै उचाइमा पुगेको छ।


