वीरगंज, आइतबार – स्वर्गीय नरेश सर्राफको दोस्रो स्मृति सभा र पत्रकारिता पुरस्कार वितरण कार्यक्रम वीरगंजमा भव्य रूपमा सम्पन्न भएको छ। समाजवादी प्रेस संगठन पर्साको आयोजनामा भएको कार्यक्रममा स्व. नरेश सर्राफको नाममा स्थापना गरिएको पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्पादक पटेललाई दोसल्ला ओढाएर, सम्मानपत्र तथा नगद रु २१,००० सहित सम्मानित गरे।

अध्यक्ष नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारहरूले सत्य लेख्न निडर भएर काम गर्नुपर्नेमा जोड दिए। उनले पत्रकारिता क्षेत्रले धेरै चुनौती सामना गर्नुपरेको बताए। “पत्रकारिताको कलम रोक्ने प्रयास गर्नेहरूलाई सत्ताले उचित जवाफ दिनुपर्छ,” उनले भने। नेपालले पत्रकारिताको भूमिकाले बिग्रिएको समाजलाई सुधार्न मद्दत गर्ने उल्लेख गर्दै सत्यतथ्य लेख्न सबै पत्रकार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।
समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष विश्वमणि सुवेदीले स्वर्गीय नरेश सर्राफको निधनले नेपाली पत्रकारिता जगतलाई अपूरणीय क्षति पुगेको बताए। उनले आगामी नेपाल पत्रकार महासंघको निर्वाचनलाई लिएर साझा नेतृत्व चयन गर्न सबै पक्षहरूबीच सहमति आवश्यक रहेको औंल्याए।
कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र साह, पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस युनियनका अध्यक्ष विजय चौहानलगायतका व्यक्तिहरूले पनि मन्तव्य व्यक्त गरे।
समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वर्गीय सर्राफको योगदान स्मरण गर्दै उनको असमयिक निधनले पत्रकारिता क्षेत्रलाई गहिरो चोट पुर्याएको चर्चा गरियो।
रेडियो वीरगंज परिसरमा सम्पन्न कार्यक्रम समाजवादी प्रेस संगठन पर्साका सहसचिव श्याम सर्राफले सञ्चालन गरेका थिए। स्व. नरेश सर्राफको हृदयघातका कारण २०७९ मंसिर १५ गते ३८ वर्षको अल्पायुमै निधन भएको थियो।


